कतै ती युवतीसँग विवाहपछि मेरो जीवन बर्वाद हुने त होइन ?
म २० वर्षीय गाउँले युवक हुँ र +२ मा पढ्दै छु । मलाई कहिलेकाहीँ यस्तो लाग्छ कि मलाई मन परेको व्यक्तिलाई कसैले नछुओस । मलाई यौन भन्ने शब्द सुन्दा नै घृणा लाग्छ । मलाई त्यो कुनै फ्याकिएको फूल, रस चुसिएको फल वा ओइलिएको फूल सरह लाग्छ, तर पनि म कसैलाई मन पराउँछु र उनी बिना मेरो जीवन अधुरो छ । हाम्रो सम्बन्ध उनको आमाबुवालाई समेत थाहा छ । उनका आमाबुवा मलाई आफ्नो सन्तान झै मान्छन् । जसलाई म मन पराउँछु उनलाई १३ वर्षकै उमेरमा कसैले ललाइ-फकाइ यौन सम्पर्क गरेको थियो रे । यो कुरा सुनेर म मर्नु न बाँच्नु भएको छु । ती युवतीलाई छाडेर कहाँ जाने ? तर उनका बारेमा सुन्दा मेरो मनले मान्दैन । यस्तो स्थितिमा म के गरुँ ? के कुनै पनि किसिमको यौन सम्बन्धलाई सामान्य रूपमा लिन मिल्छ ? यदि होइन भने म कसरी आफ्नो मनलाई सम्झाउ ? कतै ती युवतीसँग विवाहपछि मेरो जीवन बर्वाद हुने त होइन ?
तपाईंको प्रश्नले मलाई चकित तुल्याएको छ । एकातिर तपाई कसैलाई मन पराएर उनीबिना आफूलाई अधुरो सम्झनु हुन्छ भने अर्कातिर अबोध बालिका छँदै उनीमाथि भएको यौन अत्याचारको सन्दर्भ उठाएर फ्याकिएको फूल वा रस चुसिएको फलसँग तुलना गर्नुहुन्छ । यो अमिल्दो कुरा हो । तपाईं वास्तवमा ति युवतीलाई माया गर्नुहुन्छ भने उनको वर्तमानलाई माया गरेर उनको भविष्य सिंगार्ने काममा जुट्न सक्नुपर्छ । उनको अतितमा के भयो ? कसरी भयो भन्ने कुराको खोजी नीति गर्न थाल्नु भनेको खाटा परेको घाउ कोट्याउनु सरह हुन्छ । त्यसले नत तपाईंलाई नत तपाईंकी प्रेमीका कै हित गर्छ । तपाईले बुझ्नुपर्ने कुरा के हो भने मायामा कुनै पनि किसिमको खोट हेरिनु हुँदैन, केवल माया गर्नेको मन हेर्नुपर्छ । यो तथ्यलाई आत्मसात गरेर आफ्नी प्रेयसीलाई एकपटक नियालेर हेर्नु्स्, निश्चय पनि उनी निर्दोष देखिनेछिन् र तपाईलाई प्रतिक्षा गरिरहेकीझैँ लाग्नेछिन । मेरो सुझाव मान्नुहुन्छ भने आफ्नी प्रेयसीको मनमात्र नभै उनका आमाबुवाको विश्वासमा समेत ठेस पुग्ने गरी कुनै पनि किसिमको कदम नचाल्नु होला । ति युवतीलाई जस्तो छिन त्यस्तै रूपमा स्वीकार गर्न सक्नुमै तपाई र ति युवतीको कल्याण छ ।
No comments:
Post a Comment